दफा
पक्षले व्यक्त गरेको कुरा
(१) मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरुद्ध प्रमाणमा लिन हुन्छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि:
(क) फौज्दारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्वन्धमा अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहाय बमोजिम ठहराएमा प्रमाण लिन हुन्छ:
(१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।
(२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो
इच्छा विरुद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।
(३) सो अभियोग बारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाईको सम्वन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसंगत रूपमा विश्वास गरेको थियो ।
(ख) दफा १२ को खण्ड (क) देखि (घ) सम्ममा उल्लिखित कुराहरू र  यस परिच्छेदको अन्य कुनै दफा बमोजिम प्रमाणमा लिन हुने कुनै कुरा सो पक्षले नै व्यक्त गरेको भए पनि निजले चाहेमा त्यस्तो कुरा निजका पक्षमा पनि प्रमाणमा लिन हुन्छ ।
(ग) मिल्ने उद्देश्यले कुनै पक्षले आफ्नो दाबी पूरै वा आंशिक रूपमा छोड्न वा कुनै व्यक्तिलाई कुनै रकम दिन वा कुनै सेवा प्रदान गर्न स्वीकार गरेको कुरा निजका बिरुद्ध प्रमाणमा लिन हुँदैन ।
(३) यस दफाको प्रयोजनको लागि देहायका व्यक्तिले व्यक्त गरेको देहाय बमोजिमको कुरा पक्षले नै व्यक्त गरेको मानिनेछ:
(क) पक्षको वारिस वा प्रचलित नेपाल कानुन बमोजिम निजका तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्ने व्यक्तिले वारिस वा त्यस्तो प्रतिनिधिको हैसियतले व्यक्त गरेको कुनै कुरा,
(ख) पक्षका तर्फबाट कुनै काम गर्न अधिकार पाएका व्यक्तिले त्यस्तो अधिकार कायम रहेको अवस्थामा आफ्नो अधिकारको विषय वस्तुका सम्वन्धमा व्यक्त गरेको कुनै कुरा,
(ग) मुद्दाको कुनै विषय वस्तुमा पक्षलाई कुनै अधिकार प्राप्त हुनुभन्दा अगावै सो विषय वस्तुमा स्वामित्व वा आर्थिक स्वार्थ भएका व्यक्तिले आफ्नो स्वामित्व वा आर्थिक स्वार्थ रहेको अवस्थामा त्यस सम्वन्धमा व्यक्त गरेको कुनै कुरा, वा
(घ) मुद्दाको विषय वस्तुमा संयुक्तरूपमा पक्ष र अन्य कुनै व्यक्तिको स्वामित्व वा आर्थिक स्वार्थ कामय रहेको अवस्थामा सो व्यक्तिले सो सम्वन्धमा व्यक्त गरेको कुनै कुरा ।